सामाजिक फीड
जनकपुरधाम, जेष्ठ ३ गते ।
जनकपुरधाम सहित देशभर आज वैशाख शुक्ल नवमी अर्थात् सिता ज्यन्ती मनाइँदै छ ।
रामजानकी मन्दिरहरुमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । वाल्मीकि रामायण र पुराणहरूमा त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन गरिएको छ ।
प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा पनि सम्मान गरिन्छ ।
सीता जयन्तीका अवसरमा जनकपुरको रामजानकी मन्दिरमा मेला लागेको छ । जानकी नवमीका अवसरमा जानकी मन्दिरलाई दुलहीझैँ सिँगारिएको छ । यसै अवसरमा शुक्रबार मिथिलाञ्चलमा दीपावली गरिने छ ।
देशका विभिन्न भागका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुरधाम आएका छन् । साँझ ४ बजे जानकी मन्दिरको प्राङ्गणबाट जनकपुर नगरमा शोभायात्रा प्रारम्भ हुनेछ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवको नेतृत्वमा हुने शोभायात्रामा जनकपुरका विभिन्न मन्दिरका महन्थ, साधुसन्त तथा स्थानीयवासीको सहभागिता हुनेछ ।