सामाजिक फीड,
महोत्तरी, २ जेठ । महोत्तरीका क्षयरोगीहरूलाई पोषण सामग्री वितरण गरिएको छ । विराट नेपाल मेडिकल ट्रष्ट बीएनएमटीले साबित्री बस्न्यात फन्ड फोर टीबीको आर्थिक सहयोगमा नउरिस टीबी प्रोजेक्टअन्तर्गत बुधबार औरही नगरपालिका १० जना र रामगोपालपुर नगरपालिकाका १० जना क्षयरोगीहरूलाई षोषण सामग्री वितरण गरेको हो ।
माघ महिनापछि क्षयरोगी पुष्टि भएका र यी पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा उपचाररत रहेकाहरूलाई पोषण सामाग्री वितरण गरिएको छ । बिरामीहरूलाई चामल, दाल, तेल, चना, आटा, मांसाहारीलाई अण्डा र साकाहारीलाई स्वयाबिन वितरण गरिएको छ ।

उनीहरूलाई ६ महिनासम्म प्रत्येक महिना यो सामग्री वितरण गरिने बीएनएमटी महोत्तरीका कार्यक्रम संयोजक डा. मनोजकुमार साहले जानकारी दिनुभएको छ । त्यसक्रममा औरही नगरपालिकाका प्रमुख प्रदीपकुमार खड्काले बीएनएमटी नेपालले टीबी निदान, उपचार र न्यूनीकरणमा राम्रो काम गर्दै आएको बताउनुभयो । यस्ता कार्यक्रमले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा रामगोपालपुर नगरपालिकाका प्रशासकीय अधिकृत अच्छेलाल दासलगायत पनि सहभागी भएका थिए ।

त्यस्तै, बिहीबार महोत्तरीको गौशालाका २० क्षयरोगीलाई पोषण सामग्री वितरण गर्ने कार्यक्रम छ । यो कार्यक्रम पालिकाहरू र बीएनएमटीबीचको सम्झौतामा सञ्चालन भइरहेको छ । सम्झौताअनुसार पालिकाहरूले ४० जनालाई र बीएनएमटी नेपालले सावित्री बस्नयात फण्ड फर टीबीको आर्थिक सहयोगमा ४० जनालाई पोषक खानेकुरा र सामाग्री वितरण गर्ने छन् । ६ महिनासम्म कुल ८० जनालाई पोषण सामग्री दिइनेछ ।
बिरामीहरूको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले यो सामाग्री वितरण गरिएको पनि संयोजक डा. साहले बताउनुभयो । गरिब, विपन्न, ज्येष्ठ नागरिक, विद्यार्थी, गर्भवती, सुत्केरी, बेरोजगार र बसाइसराइ गरी आएका बिरामीलाई प्राथमिकतामा राखेर पोषण सामाग्री बाँड्ने गरिएको हो ।