सामाजिक फीड,
काठमाडौँ, २ जेठ । काठमाडौँको रत्नपार्कमा अपाङ्गता भएका व्यक्तिहरूको आन्दोलनमा धरपकड भएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली २०७७ को नियम ९ सँग सम्बन्धित सामुदायिक सहायता सेवामा उल्लेख भएको व्यक्तिगत सहयोगीको माग गर्दै विगत दुई हप्तादेखि निरन्तर आन्दोलनमा भइरहेको छ । धरपकडमा अपाङ्गता भएका केही व्यक्ति घाइते भएको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै विकास थापालगायत करिब दुई दर्जन अपाङ्गता भएका व्यक्ति पक्राउ परेका र अपाङ्गता भएका व्यक्तिको संवेदनशीलतामाथि ख्यालै नगरी भएको यस प्रकारको दमन र धरपकडको घोर भत्सर्ना र निन्दा गरेका छन् ।
विगत केही महिना अघि दीपक भण्डारी सहित अपाङ्गता भएका व्यक्तिहरूको धर्ना र आन्दोलन पश्चात नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सहमति गरिसकेको सहयोगी तथा सामुदायिक सेवा सम्बन्धी व्यवस्था कार्यान्वयनको माग गर्दै विगत २ हप्तादेखि पुन अनसनमा रहेका कारण स्वास्थ्य अवस्थामा समेत जोखिम बढिरहेको तर्फ नेपाली कांग्रेसले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेपाल सरकार आफैले सहमति गरेको तर कार्यान्वयन नगरेको सन्दर्भमा कार्यान्वयनको माग गर्दै अनिश्चितकालिन अनसनमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको न्यायोचित माग तत्काल सम्बोधन गरी जीवन रक्षा गर्न, शान्तिपूर्ण सडक आन्दोलनका क्रममा पक्राउ परेका अपाङ्गता भएका व्यक्तिहरूलाई तत्काल रिहाइ गर्न र घाइतेहरुको स्वास्थ्योपचारको व्यवस्था गर्न नेपाली कांग्रेस नेपाल सरकारसँग जोडदार माग गरेको छ ।