सामाजिक फीड
जनकपुरधाम, बैशाख ३१ गते ।
मधेश प्रदेशमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ ।
मधेस सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रले सरकारबाट बाहिरिएर नयाँ सरकार गठनको तयारी थालेको हो । दुबै दलले सरकारबाट समर्थ समेत फिर्ता लिइसकेपछि मुख्यमन्त्री सरोजकुमार यादव अहिले अल्प मतमा परेका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर अशोक राई पक्षले जसपा गठन गरेपछि आइतबार एमाले र माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बाहिरिएको थियो। आइतबार माओवादी सांसद युवराज भट्टराईको निवासमा एमाले, माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका नेताहरूबीच छलफल भएको थियो।
छलफलमा चारवटै दलले मिलेर सरकार गठन गर्ने विषयमा प्रारम्भिक छलफल भएको नेताहरूले बताएका छन्।
१०७ सदस्यीय मधेस प्रदेश सभामा अहिले १०६ जना सांसद छन्। यहाँ एमालेका २५, जनमत पार्टीका १३, लोसपाका ८ र माओवादीका ९ जना सांसद छन्।
प्रदेशमा सरकार बनाउन ५४ जना सांसद चाहिन्छ। अहिले सरकार बनाउने कसरतमा लागेका यी चार दल मिल्दा ५५ जना सांसद पुग्छन्। विभाजित भएर बनेको नयाँ जसपामा भने अहिलेसम्म कोही खुलेका छैनन्।
मधेसमा नयाँ सरकार बनाउनेबारे चार दल केही दिन अघिदेखि नै आन्तरिक छलफलमा थिए।
माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले नेतृत्व र भागबण्डा लगायत विषयमा पछिल्लो केही दिनदेखि निरन्तर संवाद भएको र सहमति नजिक पुगिसकेपछि आफूहरूले राजीनामा बुझाएको बताए।
उनका अनुसार चारै दल नेतृत्व सहितका विषय सहमतिको बिन्दु नजिक पुगेको छ।
चारै दलले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा करिब सहमति नजिक पुगिसकेको र सुरूमा माओवादी त्यसपछि, एमाले, जनमत र लोसपाले नेतृत्व गर्ने सहमति करिब एउटा बिन्दुमा पुगिसकेको उनले बताए ।