Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २९ वैशाख । कवाड व्यवसायीहरूले आफूहरूको व्यवसायमा काठमाडौँ महानगरपालिकाले अवरोध गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ध्यानाकर्षण गराएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरूलाई विस्थापित गराउने गरी महानगरभित्रका वडा कार्यालयहरूबाट परिपत्र जारी गरिएकोमा आपत्ति जनाएका हुन् ।

महानगरले आफूहरूको व्यावसायिक फर्मको दर्ता नवीकरणसमेत नगरेको उनीहरूको गुनासो थियो । उनीहरूले आफूहरूले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए ।

अदालतबाट कवाडी व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनि महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरूले प्रधानमन्त्री दाहाललाई स्मरण गराएका थिए ।

सो क्रममा प्रधानमन्त्री दाहालले कवाड व्यवसायीहरूको व्यवसायको सुरक्षाको प्रत्याभूति गराउन सरकारले आवश्यक कदम चाल्ने विश्वास दिलाएका थिए । अदालतको आदेशविपरीत कोही पनि जान नमिल्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *