Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २३ वैशाख । मधेशमा दिनप्रति जलका स्रोतहरू सुक्न थालेपछि खानेपानीको समेत हाहाकार हुन थालेपछि उर्बर भूमि मरुभूमीकरणमा परिणत हुन थालेको भन्दै मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले चिन्ता व्यक्त गरेका छन् ।

मधेशमा जलसंकट दिनप्रति बढ्दै गएको भन्दै पूर्वप्रदेश प्रमुख डा. अहिराजले यो संकटबाट बच्नका लागि वृक्षरोपण, चुरे संरक्षण र पानीका मुहानको सम्बर्द्धनका लागि तीनै तहका सरकारलाई आग्रह गरेका छन् । सामाजिक फीडसँगको कुराकानीमा उनले भने, ‘मधेशमा जलसंकट बढ्नु मानव जातिका ठूलो चुनौती बन्दै गएको छ । मधेशलाई मरुभूमीकरणबाट बचाउन एक मात्र उपाय भनेको वृक्षरोपण गर्नु हो ।’

उनले तत्काल स्थानीय र प्रदेश सरकार वृक्षरोपण कार्य सुरु गरिहाल्नपर्ने पनि बताए । स्थानीय र प्रदेश सरकार यो जलसंकटबाट अनभिज्ञ नरहेकै भन्दै डा. अहिराजले भने, ‘नागरिकको जीवन दिनप्रति दिन संकटग्रह बन्दै गएको छ । मधेशमा पानीको हाहाकार हुँदैछ । वनविनाश र चुरे दोहनका कारण मधेशमा वर्षेनी विभिन्न प्राकृतिक विपदाहरू आइरहन्छन्, जसबाट ठूलो संख्यामा जनधनको क्षति भइरहेको छ ।’

तराई–मधेशका जिल्लाहरूमा गर्मी महिनाको सुरुवातमै करिब ४२ डिग्री सेल्सियससम्म तापमान पुग्न थालेको छ । एकाएक बढेको गर्मीले यस क्षेत्रका बासिन्दाहरूको जीवन अत्यन्तै चुनौतीपूर्ण बनेको छ । सर्वसाधारणले गर्मीको मौसमसँग बच्न जुधिरहेको देखिएको छ ।

गर्मीको महिनाहरूमा पानी जस्ता अतिआवश्यक स्रोतहरू पर्याप्त रूपमा उपलब्ध गराउनसमेत सरकार असमर्थ देखिएको छ । यस्तो अवस्थामा सरकारले तराई मधेशका जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर सम्बोधन गर्न जरुरी रहेको पूर्वप्रदेश प्रमुख डा.अहिराजको भनाइ छ ।

जलसंकटप्रति तीनै तहका सरकार, नागरिक समाज, सञ्चारजगत् लगायत सम्पूर्ण सरोकारवालाहरूलाई वृक्षरोपणका लागि जुट्न आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *