सामाजिक फीड–
जनकपुरधाम, वैशाख २२ गते ।
जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार जनमत पार्टी धनुषाद्वारा औरही गाउँपालिकामा आयोजित वृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले यस्तो आरोप लगाएका हुन् ।
‘धनुषामा किसानहरुलाई सिंचाई । मलखादको समस्या छ र बेरोजगारी समस्याले किशोरहरु सानै उमेरमा विदेशिन बाध्य छन्’ उनले भने ‘तर धनुषामा केही पार्टीका नेताहरु गुण्डागर्दी शैलीमा राजनीति गर्न खोज्दैछन् । एकले अर्काेलाई थिचोमिचो गर्न खोज्दैछौं। यस्तो राजनीतिले जिल्लाका जनताको जीवन स्तरमा सुधार आउने छैन।’
नेता साहले अब यस्तो गुण्डागर्दी शैलीको राजनीति नचल्ने दावी गरे ।
धनुषाको विकासका लागि सम्पूर्ण राजनीतिक दलहरु मिलेर अगाडि बढ्नु पर्ने उनले सुझाव दिए। ‘अरु जिल्लाहरुमा विकास निर्माणको काम सबै दल मिलेर काम गर्छन् । तर धनुषामा एउटा पार्टीले काम गरे अर्कोले अवरोध गर्ने परम्परा देखिन्छ। यसरी हामी हाम्रो जिल्लाकै जनतालाई गरिब बनाइ राखेका छौं।’ नेता साहले भने,‘हेरक पटक संघीय मन्त्रिपरिषदमा धनुषाबाट कम्तिममा एक जना मन्त्री हुने गरेको छ। उहाँहरुले पार्टीभन्दा माथी उठेर जिल्लामा विकास निर्माण तथा सुधारको काम गर्नु पर्नेछ।’
जनमत पार्टीका नेता कार्यकर्ताहरुले जनताको समस्या लिएर जाँदा कतिपय प्रशासनिक अड्डामा अनदेखा गर्ने प्रयास भइरहेकोप्रति आक्रोस पोख्दै नेता साहले भने,‘जनमत पार्टी पढेलेखेका वा बैज्ञानिकको पार्टी हो भनेर हाम्रा नेता कार्यकर्तालाई ‘सुधुवा’ ठानेर हेप्ने प्रयास भएको देखिन्छ। पुलिस प्रशासनले यो विर्सिनु हुँदैन कि हामी दश वर्ष संघर्ष गरेर आएका हौं। हामी अहिले सैंयमित भएर अगाडि बढ्न खोज्दैछौं। हाम्रा नेता कार्यकताहरुले जनताको समस्या लिएर जाँदा सरकारी अड्डाहरुमा वा वडा–पालिका कार्यालयहरुमा सम्मानजनक व्यवहार भएन भने हामी चुप लागेर बस्ने छैनौं।’
उक्त सभालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत, मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव, धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र मण्डललगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र जसपालगायतको दलबाट ५ सयभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।