Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, वैशाख १६ गते ।

जनकपुरधामको एक निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा एक युवक २४ दिनदेखि बन्धक बनेका छन् । जनकपुरधामको ब्रह्मपुरी स्थित मधेश प्रदेश प्रहरी कार्यालयको सामुन्ने रहेको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा २२ वर्षीय रामविनय महरा २४ दिनदेखि बन्धक बनेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने रामविनय गत चैत १४ गते साँझ मोटरसाइकल दुर्घटनामा घाइते उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । तर केहीबेरपछि प्रादेशिक अस्पतालबाट आफन्तलाई थाहै नदिइ जनकपुरकै कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमामा भर्ना गरिएको थियो ।

उपचार खर्च तीनलाख रुपैयाँ घरपरिवारले बुझाउन नसक्दा गत चैत २२ गते नै अस्पतालले डिस्चार्ज गरेका उनी अझै आइसियु बेडमै छन् । आठदिन पश्चात गत चैत २२ गते नै अस्पतालले उनको डिस्चार्ज गरिसकेको छ ।
तर, डिस्चार्ज भएकको आज २४ दिन भएपनि उपचार खर्च बुझाउन नसक्दा रामविनय अस्पतालमै छन् । अस्पतालले उनलाई बाहिर न निकाली आइसियुको उपचार खर्च थप्दै लगेको श्रीमती मनिषाले गुनासो गरिन् ।
डिस्चार्ज हुने दिनसम्म उनको उपचार खर्च फार्मेसी बाहेक झण्डै ३ लाख थियो । जनेतेन चन्दा तथा ऋण उठाएर अस्पतालको ५० हजार र फार्मेसीको ४० हजार गरी ९० हजार तिरेको आमा प्रमिला बताउँछिन् ।

‘जेनतेन ९० हजार तिरेको छु । हामी गरिब मान्छे । हामीसंग बेचेर दिने सम्पति छैन । गाउँघरमा कसैले ऋण दिँदैन, कहाँबाट रुपैयाँ ल्याउने, कसरी छोरालाई अस्पतालबाट निकाल्ने ? झन् आइसियुमा राखेर बिल थपिरहेको छ’ प्रमिलाले दुखेसो पोखिन् ।
अस्पतलको लेखा काउन्टर कर्मचारीका अनुसार उनको आइसियुको बिल थपिनै रहेकोले तीन लाखभन्दा माथि छ ।

छोरालाई उपचार खर्च तिरेर अस्पतालबाट निकाल्न रामविनयका बुबा पंचु महरा र आमा प्रमिला भौतारिरहेका छन् । महरा परिवारको सम्पतिको नाममा केवल दुईधुर घडेरी र त्यसमा घर बाहेक केही छैन । जनमजदुरी गरेर महराको परिवार चल्छ । तर, छोरा अस्पतालमा बन्धक बन्दा दिनभर उनीहरु चन्दा संकलनसंगै पहल गरिदिन नेता, जनप्रतिनिधि, दलित अगुवा, भरभलादमीको दैलो चहारिरहेका छन् । २४ दिनदेखि बुबा पञ्चु र आमा प्रमिलाको यो दैनिकी बनेको छ । झन् आइसियुमा राखेको आर्थिक बोझ थपिँदै जाँदा बेचैनी बढ्दै गएको छ महरा परिवारको । आइसियुबाट निकालदिन बिलौना गर्दा अस्पताल संचालक मान्दैनन् ।

अस्पतालमा रामविनयकी श्रीमती मनिषा एक महिनादेखि कुरुवा बसेकी छन् । श्रीमानलाई सहयोग गरि निकालिदिन उनको आग्रह छ ।
सबै पैसा नबुझाए अस्पतालबाट जान दिन्न भन्ने अस्पतालको अडान छ । अस्पतालका इन्चार्ज देवेन्द्र यादवले अस्पतालले उपचार गरिदिएको र शुल्क बुझाएर लग्न भन्दा नलगेको बताए ।
चैत १४ गते साँझ छिमेक रामकिसुनको रामको ज १२ प ३४६५ नम्बरको मोटरसाइकलमा बाहिर निस्केका रामविनय धनुषाको औरही गाउँपालिकाको कप्टौल भन्ने ठाउँमा दुर्घटना परेका थिए ।

धनुषाको औरही प्रहरी चौकीका इन्चार्ज सई हेमबहादुर कुवरका अनुसार चैत १४ गते साँझ ७ बजेर ५० मिनेटमा मोटरसाइकल अनियन्त्रित भएरामविनय घाइते भएका थिए भने रामकिसुन समान्य चोटपटक लागेको थियो । प्रहरीले रामविनयलाई प्रहरीले उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठायो ।

प्रादेशिक अस्पतालबाटै केहीबेर पछि रेफर गरियो । ‘सुन्ने बितिकै हामी प्रादेशिक अस्पताल पुग्यौं । हामी पुग्दा त्यहाँबाट रेफर गरेर कृष्णा मेडिकलमा पठाएको जानकारी भयो । किन यो अस्पतालमा पठायो, कसले ल्यायो हामीलाई अहिलेसम्म केही थाहा छैन’ आमा प्रमिलाले भनिन् ।

यता प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले न्यूरो सम्बन्धि डाक्टर प्रादेशिकमा नरहेकाले बाहिर रेफर गरेको हुन सक्ने बताए । मधेश सरकारको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सबभन्दा ठूलो प्रादेशिक अस्पताल जनकपुरमा दुईवर्ष अघि नै न्यूरो सम्बन्धि अपरेशन थिएटरको उदघाटन भएको थियो । तर अहिलेसम्म न्यूरो सम्बन्धि उपचार जनशक्ति अभावले सुरु गर्न नसकेको निर्देशक पण्डितले बताए । यस्तो अवस्थामा त्यहाँ अकास्मिक सेवामा केही चिकित्सकले कमिसनको लागि नाम किटेरै निजी अस्पतालमा बिरामी रेफर समेत पठाउने गरेको आमजन गुनासो छ ।

One Response

  1. यो सब लुटतन्त्र हो कर्मचारी को मिलोमतो मा हुन्छ मैले आफै भोगेको हु

Leave a Reply

Your email address will not be published. Required fields are marked *