Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १४ वैशाख । मधेश प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले महोत्तरीको मटिहानीका आगलागी पीडितहरूलाई राहतका प्याकेज तथा पुनर्वासको व्यवस्था गर्नुपर्ने भन्दै संघीय सरकारसहितलाई ध्यानाकर्षण गराएका छन् ।

पूर्वमुख्यन्यायाधिवक्ता झाले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसहित तीनवटै सरकारका विभिन्न निकायसमक्ष सातबुँदे ध्यानाकर्षण पत्र पेश गरेका हुन् । उनले मटिहानी नगरपालिकाको वडा नम्बर ६ मा पर्ने जरलहवा बस्तीमा भएको विनाशकारी आगलागीको घटनाका पीडितको बाच्न पाउने अधिकार, आवास खाद्यान्नलगायतका मौलिक अधिकारको प्रत्याभूति गर्न माग गरेका छन् ।

पूर्वमुख्यन्यायाधिवक्ता झाले आउँदो आर्थिक वर्षको बजेटमा मटिहानी नगरपालिकाको अग्निपीडितलाई हुन गएको क्षतिको लागत संकलन गरी घर पुननिर्माणका लागि विशेष राहत प्याकेजसहितको बजेट, मटिहानी नगरपालिकाबाट कार्यान्वयन हुने गरी संघीय सरकार र प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने, अग्निपीडितहरूको स्वास्थ्य उपचार, खाद्यान्न र लत्ताकपडाको उचित व्यवस्था गर्नुपर्ने, अग्निपीडितहरूले आफ्नो घर र वासस्थान गुमाइसकेको हुँदा निजहरूको पुनर्वासको व्यवस्था गर्ने गरी जलेर नष्ट भएका घरहरू पुनर्निर्माण गरिदिने र पुनर्निर्माण कार्य सम्पन्न नहुन्जेलसम्म तत्कालको वासस्थानको व्यवस्था गर्नुपर्नेलगायत माग राखेका छन् ।

बुधवार भएको आगलागीबाट मटिहानीको जरलहवा वस्तीका करिब १५० वटा घर जलेका थिए । मधेश प्रदेश सरकारलगायत विभिन्न निकायलाई पनि पत्रको बोधार्थ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *