सामाजिक फीड
जनकपुरधाम , बैशाख १३ गते ।
मधेश प्रदेश सहित देशभर शुक्रवारबाट कक्षा १२ को परिक्षा सञ्चालन हुन लागेको छ ।
परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् ।
बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । गतवर्षभन्दा यसपालि १८ हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्र पनि अघिल्लो वर्षको तुलनामा थपिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए ।
सबैभन्दा बढी काठमाडौंमा १ सय ४४ परिक्षा केन्द्र तोकिएका छन् । मनाङ, मुस्ताङमा भने एक-एक वटा परीक्षा केन्द्र तोकिएको छ ।
परिक्षाको प्रश्नपत्र भने गतवर्ष जस्तै अनलाइनबाट पठाइने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र परीक्षामा खटिने केन्द्राध्यक्षको रोहबरमा मात्रै प्रश्नपत्र परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा पहिले प्रिन्ट गर्न निर्देशन दिइएको शर्माले जनाए ।
२०७६ को कोभिड महामारीयता बोर्डले कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै पढाउने व्यवस्था गर्दै आएको छ । चैतमा सञ्चालित एसईई परीक्षामा भने छपाइ गरेरै परीक्षा केन्द्रहरूमा प्रश्नपत्र पठाइएको थियो ।