Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १२ वैशाख । सर्वोच्च अदालतले गौर घटनाका पीडितले न्याय नपाएको भन्दै दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ । २०६३ चैत ७ गते रौतहटको राइसमिल्स क्षेत्रमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए ।

उक्त घटनालाई राजनीतिक रंग दिएर पीडितलाई अहिलेसम्म न्याय नदिएको भन्दै पीडितहरूका तर्फबाट त्रिभुवन साह समेतले गत वर्ष २०८० जेठ २१ मा रिट दायर गरेका थिए । हेर्न नभ्याइनेमा पर्दै रोकिएका पेसी गत जेठ ३० मा वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजालसले जिल्ला प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयबाट अहिलेसम्म भएका अनुसन्धानका रिटपोर्टहरू झिकाउने आदेश गरेकाे थियो ।

११ माहिनापछि बुधबार मात्र सर्वोच्चमा उक्त रिट पेसीमा चढेको हो । बुधबार साहसहितको रिट न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा परेका थियो । श्रेष्ठको इजलासको पहिलो नम्बरमा परेकाे रिटमा कारण देखाउ आदेश जारी भएको रिटमा लिडलयरको भूमिकामा रहेका वरिष्ठ अधिवक्ता उद्धवप्रसाद चौलागाईंले जानकारी दिए । २७ जनाको ज्यान गएको र ५३ जनाभन्दा बढी घाइते भएर धेरै परिवारको बिचल्ली भएको घटनामा किटानी जाहेरी दिँदासमेत कारबाही नभएको गुनासो पीडितहरूले गर्दै आएका छन् ।

के हो गौर हत्याकाण्ड ?

७ चैत २०६३ मा रौतहट सदरमुकाम गौरमा माओवादीका २७ जना कार्यकर्ताको निर्मम ढंगले हत्या भएको थियो । त्यस दिन तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीले एकैठाउँ आमसभा राखेका थिए ।

आमसभा गौरको राइसमिलमा हुँदै थिए । माओवादी दस वर्षे ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आएको थोरै समय भएको थियो । मधेस आन्दाेलनबाट उदाएकाे फोरम राजनीति आधार बनाउँदै थियो ।

उक्त आमसभामा फोरमले उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको थियो । यादव त्यतिबेला फोरमका अध्यक्ष थिए । सभा हुने दिन बिहान ११ बजेदेखि फोरमका कार्यकर्ताहरूले लाठीसहित जुलुस निकारेर गौर नगर परिक्रमा गरे । दिउँसो २ बजेतिर माओवादीको पनि जुलुस निस्कियो । फोरम र माओवादीको जुलुस अदालत चोकनिर जम्काभेट हुँदा दुवैले एक अर्कालाई ताली बजाएर स्वागत गरेका थिए ।

एउटै चौरमा दुबै पक्षले १०० मिटरको दूरीमा मञ्च बनाएका थिए ।

फोरमको सभा पहिले सुरु भयो । त्यतिबेला माओवादीको जुलुसले नगर परिक्रमा गरिरहेको थियो ।

करिब २ः०५ बजेतिर फोरमका १५–२० जनाकाे समूहले माओवादीको मञ्च तोडफोड गरे । आफ्नो मञ्च तोडफोड गरेको देखेपछि माओवादीका कार्यकर्ताहरूले पनि राइस मिलको चौरमा सभा सुरु भएको फोरमको मञ्च तोडफोड गर्न थाले ।

माओवादीकाे मञ्च तोडफोड हुन थालेपछि मञ्चको विभिन्न कुनाबाट गोली चलेको र बम विस्फोट भएको त्यसपछिका अध्ययन प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय मानवअधिकार आयोगले पहिलाे गाेली माओवादीबाट चलेकाे उल्लेख गरेकाे छ । त्यसपछि दुवै पक्षको सभास्थल रणभूमिमा परिणत भयो । त्यसक्रममा माओवादीका कार्यकर्ताहरूको क्रूर ढंगले हत्या भयो । २७ जना माओवादी कार्यकर्ताले घटनास्थलमा नै ज्यान गुमाए । जसमा ५ महिला र २२ पुरुष थिए । त्यस्तै, ५३ जना घाइते भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *