सामाजिक फीड,
काठमाडाैँ, ६ वैशाख । आज र भोलि देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदैछ ।
देशभरका ७ सय ५३ वटा पालिकामा वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।
त्यस्तै, जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउन थालिएको हो । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइनेछ भने जुकाको औषधी १ देखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइनेछ । बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा अन्धोपन र छालामा हुने समस्याको रोकथामका लागि पनि भिटामिन ए खुवाउनुपर्ने जनाइएको छ ।