सामाजिक फीड,
पर्सा, ६ वैशाख । १३ वर्षीया भारतीय बालिकालाई ललाई फकाई नेपाल ल्याउने क्रममा वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट भारतीय एसएसबीले उद्धार गरेको छ। घटनामा संलग्न तीन भारतीयलाई पनि पक्राउ गरिएको छ।
एसएसबीको एन्टी ह्युमन ट्राफिकिंग युनिट (एएचटीयू)ले ती बालिकाको उद्धार गरेको हो । ती बालिकालाई प्रलोभनमा पारेर नेपाल ल्याउँदै गरेका भारतको बिहार राज्यको वैशालीका राजीव रोशन, राकेश रोशन र दिलीप कुमारलाई पक्राउ गरिएको छ । तीनै जनाले भारतको तमिलनाडुबाट १३ वर्षीया बालिकालाई लिएर वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने योजना बनाएका थिए ।
रक्सौलबाट पैदल हिँड्दै वीरगन्जतर्फ आउँदै गरेका उनीहरूलाई मितेरी पुलमा रोकेर एसएसबीले सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा सुरुमा पक्राउ परेका युवकहरूले युवतीलाई विवाहको बहानामा तमिलनाडु लगेको बताएका थिए । त्यसपछि ती बालिकालाई दिल्ली लगेको खुलेको थियो । दिल्लीबाट नेपाल ल्याउन लागेको अवस्थामा ती बालिकाको उद्धार गरिएको इन्स्पेक्टर शर्माले बताए ।
शर्माका अनुसार बालिकाको परिवारलाई फोनमा सम्पर्क गर्दा यसबारेमा उनीहरूलाई कुनै जानकारी थिएन । फोन सम्पर्कमा अभिभावकले आफ्नी छोरीलाई नेपाल जान नदिन आग्रहसमेत गरेको इन्स्पेक्टर शर्माले बताए ।
उद्धार गरिएकी बालिकालाई उनका अभिभावक बोलाएर जिम्मा लगाउने र पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको शर्माले बताए ।