सामाजिक फीड,
काठमाडौँ, ५ वैशाख । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो ।
गएराति आएको वर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको थियो ।
साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्वाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो ।
यो जितपछि नेपाल समूह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ । अब नेपालले समूह बी को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ ।
यो हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ । साउदी अरेबिया पराजित भएसँगै समूह ए बाट हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा हङकङले समूह बी को विजेतासँग खेल्ने छ । समूह बी को समुह चरणका अन्तिम खेल पनि आज हुँदै छन् ।