सामाजिक फीड,
काठमाडौँ, ५ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल बिहान ११: ४५ बजेदेखि हुने भनिएकोमा केही ढिला सुरु हुने भएको छ ।
गएराति ठूलो वर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेका कारण समयमा खेल नहुने भएको हो । अहिले पिच तयार गर्ने काम भइरहेकोले यो खेलको ओभर घटाएर खेलाइने सम्भावना रहेको छ ।
नेपालले यसअघि लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।
त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ । साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ ।
त्यस्तै आजै सोही समयमा हङकङ र मलेसिया पनि खेल्दै छन् । हाल मलेसिया ३ खेलमा २ अंकसहित चौथो र हङकङ पनि ३ खेलमा २ अंकसहित चौथो स्थानमा रहेका छन् । यस खेलमा जित हासिल गर्ने देशले नेपाल र साउदी अरेबियाबीचको नतिजाको आधारमा मात्र सेमिफाइनलमा पुग्ने नपुग्ने निश्चित हुने छ ।