जनकपुरधाम, वैशाख ५ गते ।
भगवान रामको जन्मदिनको स्मरणमा आज जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै छ ।
चैत्र शुक्ल नवमी अर्थात रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको भीडभाड छ ।
रामनवमीको अवसरमा जानकी मन्दिरले दिउँसो जन्मआरती बधाई गान र रातिमा समेत बधाई गान राखेको छ ।
त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भग्वान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिन रामको स्मृतिमा हिन्दुधर्मावलम्बीहरुले पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान एवं ब्रत बस्ने गर्दछन् ।
भगवान विष्णु सातौ अवतारको रुपमा अयोध्याका राजा दशरथको जेष्ठ पुत्रको रुपमा जन्म लिएका रामको विवाह मिथिलाका राजा जनककी सुपुत्री सीतासँग भएको थियो । संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश तथा आफ्नो पिता दशरथको कठोर आज्ञाको सहजतापूर्वक पालन गरि मानव जातीलाई सत्यको मार्गमा हिड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ ।