Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

महोत्तरी, ४ वैशाख । नेपाल राष्ट्रिय भिटामिन ए कार्यक्रम हरेक वर्षको ६ र ७ वैशाखमा सञ्चालन हुँदै आएको छ । सोहीअनुसार महोत्तरीमा पनि यसको तयारी गरिएको छ ।

महोत्तरीका १५ वटै स्थानीय तहमा ६ देखि ५९ महिनासम्मका आफ्ना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउन जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीकी फोकल पर्सन प्रतिभा सिंहले सबैसँग आग्रह गरेकी छन् ।

स्वास्थ्यकर्मीले भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधीसमेत खुवाउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको कुल जनसंख्यामध्ये ५० हजारभन्दा बढी उक्त उमेर समूहका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइनेछ भने जुकाको औषधी १ देखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइनेछ ।

बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा अन्धोपन र छालामा हुने समस्याको रोकथामका लागि पनि भिटामिन ए खुवाउनुपर्ने जनाइएको छ ।

स्वास्थ्यकर्मी तथा फोकल पर्सन सिंहका अनुसार भिटामिन ए कै कमीका कारण दाँत र हड्डीको पर्याप्त विकास हुन नपाउँदा ५ वर्ष मुनिका बालबच्चाको मृत्‍युदर अरु बच्चाको तुलनामा ४ गुणा उच्च हुने गरेको छ ।

नेपालमा सन् १९९३ पूर्व ५ वर्ष मुनिका बालबच्चाको मृत्‍युदर उच्च थियो जसको एउटा कारण भिटामिन ‘ए’ को कमी पनि भएको एक अध्ययनले देखाएको छ । १९९३ देखि सरकारले भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान सुरु गरेपछि ५ वर्षमुनिका बालबच्चाको मृत्‍युदर क्रमश: घट्दै गएको तथ्यांकले देखाएको छ ।

महोत्तरीमा आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधी खुवाउन र सम्बन्धित पालिकाको स्वास्थ्य साखामा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *