Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, ३ वैशाख । जनता समाजवादी पार्टीले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्दीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यतालगायत वैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुनेसमेत निर्णय गरेको छ ।

कार्यतालिकाअनुसार वैशाख १० गतेभित्र संगठन विभागले आवश्यकताअनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने, संगठित सदस्यतामा त्रुटि देखिएमा वैशाख १५ भित्र सच्याउनुपर्ने, १६ गते संगठित सदस्यताको अभिलेख सार्वजनिक गरिनेछ ।

त्यसैगरी, वैशाख १७ देखि २० सम्म संगठित सदस्यतामाथि उजुरी गर्ने र २१ गतेदेखि २५ भित्र ती उजुरीमाथि छानबिन गरिसक्ने समय तोकिएको छ ।

संगठित पार्टी सदस्यहरूको अन्तिम नामावलीसहितको विवरण वैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ । वैशाख ३० गतेदेखि जेष्ठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नुपर्ने तालिका सार्वजनिक गरिएको छ ।

यसैगरी, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागि प्रतिनिधि निर्वाचनसम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यमा शिवलाल थापा र मनिषकुमार सुमन रहेका छन् ।

गत पुसमा जसपाको सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

संगठित पार्टी सदस्यताको विवरण पठाउँदा पार्टी सदस्यता प्राप्त गरेको मिति छुट्न गएको वा उल्लेख नभएको खण्डमा त्यस्ता संगठित सदस्यहरूको सदस्यता प्राप्त मितिसहितको विवरण सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिने र सम्बन्धित प्रदेशले संगठन विभागमा यथाशीघ्र पठाउनुपर्ने जसपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *