Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, ०२ वैशाख । मधेश प्रदेशको जनकपुरधाममा जारी राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा एक खेलाडी घाइते भएका छन् ।

वैशाख ४ गतेबाट काठमाडौँमा हुन लागेको प्रतियोगितामा सहभागिताका लागि जनकपुरधाममा मधेश प्रदेशका खेलाडी छनौटका खेलहरू चलिरहेका छन् । दुई दिनदेखि रजौलस्थित श्री रामजानकी बहुउद्देश्यीय रंगशालामा छनौट प्रतियोगिता चलिरहेको हो । यसैक्रममा आइतबार एथलेटिक्सतर्फ भएको लङजम्प छनौट खेलमा सहभागी महोत्तरीका एक खेलाडी घाइते भएका हुन् ।

खेलाडी कुद्‍ने मैदानमा बालुवा राख्नुपर्ने ठाउँमा माटो (चिकनी माटो) राखेका कारण खेलाडी घाइते भएको खेलाडी तथा प्रशिक्षकहरूले आरोप लगाएका छन् । घाइते खेलाडीलाई प्रादेशिक अस्पताल लगिएको छ ।

यसअघि, शनिबार पनि एक खेलाडी घाइते भएपछि खेल नै रोकिएको थियो । यस विषयमा आयोजक मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चुँडामणि फुँयालले आफू यस विषयमा बुझिरहेको प्रतिक्रिया दिएका छन् । प्रतियोगिता एकदमै अव्यवस्थित तरिकाले भइरहेको पनि खेलाडी तथा प्रशिक्षकहरूको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *