Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, बैशाख २ गते ।

मिथिलाञ्चलसहित मधेशमा आज हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । नव वर्षको स्वागतमा मधेशमा प्रत्येक वर्षको वैशाख २ गते आफूभन्दा सानाको शिरमा (टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ ।

बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन छ ।

वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यको कामना रहन्छ । आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ ।

सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन् । घरघरमा विशेष परिकार बनाएर खाने चलन पनि यस पर्वमा छ ।

जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । मधेश सरकारले जुडशीतलको लागि सार्वजनिक बिदा छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *