सामाजिक फीड,
काठमाडाैँ, २९ चैत्र । मुस्लिम धर्मावलम्बीहरूले ३० दिनको (रमजान) रोजा सकेर आज ईद मनाउँदै छन् । बुधबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि रोजा सकिएर आज ईदुलफित्र अर्थात ईद मनाइँदैछ । पवित्र ग्रन्थ कुरआन अवतरण भएको महिना रमजान (रोजा) मुस्लिम समुदायको पवित्र महिना पनि हो । ईद देशभरि धुमधामका साथ मनाइँदैछ । खाडी मुलुकमा भने बुधबार नै ईद मनाइएको छ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म रमजानको रोजा (व्रत) सकिएको भोलिपल्ट अर्थात आजकै दिन ईद मनाउने गरिन्छ । रमजान उर्दु क्यालेन्डरको नवौँ महिना हो ।
मुस्लिमहरू ईद गाहमा जम्मा भएर सामूहिक नमाज पढी मनाउँदैछन् । ईस्लाम धर्मको महान पर्व (ईदुल फित्र) ईद र (ईदुलअजहा) बकरईदको दिन मात्रै मुस्लिम समुदाय एकत्रित भई ईद गाहमा नमाज पढ्ने गर्छन् ।

ईदको दिन बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई ईद गाह वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढिन्छ । प्रार्थनामा सम्पूर्णको स्वास्थ्य, शान्ति र अमनचयनको कामना गर्ने गरिन्छ । सो पश्चात् एकआपसमा गला मिलाएर ईद मुबारक भन्दै एकआपसमा शुभकामना साटासाट गर्ने र नमाजपछि ईदको विशेष परिकार सेवईका साथै अन्य मिठाईका परिकार खाने परम्परा छ ।
विपन्न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुशी पार्नु पर्ने पनि यो चाडको प्रमुख विशेषता हो । ईदको पूर्व सन्ध्यामा रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिना भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।

ईद उल–फित्रकै अवसरमा सरकारले बिदासमेत दिएको छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरूले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरू बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानीसमेत नखाई ब्रत बस्ने गर्छन् । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खाई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु)गरी रोजा खोल्नुपर्छ । रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।
रोजा जस्तो कठिन व्रत गर्नेले यस महिनालाई पवित्र महिनाका रूपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ । पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।
झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो ।
रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।
यस महिनामा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आम्दानी र सम्पत्तिबाट अढाई प्रतिशत जकात (कर) निकाल्नुपर्छ । यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा दिनुपर्छ । फित्तरा र जकात ईदुलफित्र अर्थात् ईद को नमाज पढ्नुभन्दा अगावै निकाली सक्नुपर्छ । यो नेपालमा मात्र नभई संसारभरिकै मुसलमानमा लागू हुन्छ ।
अल्लाहका लागि त्याग, समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनामा मुसलमान आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्ने मान्यता रहेको छ । रोजाको अवधिमा शारीरिक रूपमा दुब्लाए पनि मानसिक रूपमा निकै गौरव ठान्ने मुस्लिमले इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत शर्तहरू पूरा गर्ने अवसर प्राप्त गर्छन् ।
ईदको ७० औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गरिन्छ । जसका लागि मुस्लिमहरू ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्छन् ।