सुनसरी, २८ चैत्र । सुनसरीका विभिन्न स्थानमा लागेको कर्फ्यु हटाइएको छ । दुई समुदायबीचको झडपका कारण तनाव बढेपछि हरिनगरसहित पाँच पालिकामा केहीदिनदेखि जारी कर्फ्यु पूर्ण रूपमा हटाइएको हो ।
यद्यपि यी क्षेत्रमा भेला तथा जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन् । स्थानीय प्रशासनले सुनसरीको हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा लगाइएको कर्फ्यू हटाइएको छ । दुई समूहबीचकाे विवादले उग्र रूप लिएपछि गत शुक्रबार बेलुकाबाट कर्फ्यु लागेको थियो ।
शनिबार भएको सर्वदलीय बैठकमा दुबै पक्ष साम्य हुने सहमति भए पनि प्रदर्शन भएपछि पुनः कर्फ्यु लगाइएको थियो । स्थानीय प्रशासनले सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा पूर्णरुपमा कर्फ्यू र इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा आंशिक रुपमा कर्फ्यु जारी गरेको थियो । सबै क्षेत्रको कर्फ्यु मंगलबार राति १२ बजेबाट हटेको छ।