सामाजिक फीड,
जनकपुरधाम, २७ चैत्र । जनकपुरधाममा एक युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सोमबार जनकपुरधाममा धारिलो हतियार प्रहार गरी महोत्तरीको एकडारा गाउँपालिकाका भटोलियाका २० वर्षीय प्रिन्सकुमार महासेठको हत्या गरिएको थियो । यही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार नै जनकपुरधाम –४ शन्तिनगरका २२ वर्षीय अर्जुन भनिने अजयकुमार साहलाई पक्राउ गरेको हो । उनलाई मंगलबार सार्वजनिक गरिएको छ । साहले सोमबार दिउँसो विश्वकर्मा चोकदेखि कलवार कुट्टि जाने गल्लीको बाटोमा महासेठमाथि चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
अजयकुमार साह, प्रिन्सकुमार महासेठ र रोशनकुमार झाबीच जटहीमा सामान्य विवाद भएको थियो । सोही विवादको रिसइवी राखी साहले महासेठलाई विश्वकर्मा चौकमा कुटपिट गर्नुका साथै चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । छातीमा चक्कु प्रहार भएको उनलाई प्रादेशिक अस्पताल पुर्याइए पनि मृत घोषणा गरिएको थियो । अभियुक्त साह भारतीय नाकाहरूमा गई लागूऔषध सेवन गर्ने/गराउने कार्यमा संलग्न रहँदै आएको पनि प्रहरीले जनाएको छ । साहमाथि यसअघि पनि सार्वजनिक अपराध, चोरीलगायत मुद्दाहरू चलाइएको प्रहरीमा रकर्ड छ ।
२०७२ र २०७८ सालमा उनीविरुद्ध सार्वजनिक अपराधलगायत मुद्दाहरू दायर भएको प्रहरीले जनाएको छ । त्यस्तै, २०८० वैशाख ७ गते चोरीसम्बन्धी मुद्दा र मंसिर १६ गते अभद्र व्यवहार मुद्दा उनीमाथि चलाइएको थियो । पछिल्लो भएको हत्यासम्बन्धी घटनामा उनीमाथि कर्जव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् ।