Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

बारा, २६ चैत्र । साविक विजेता चर्च व्वाईज युनाइटेड क्लबलाई इन्ज्युरी समयमा स्तब्ध पार्दै सलहेश युवा क्लब सिरहा जगदम्बा स्टिल १४ औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभिजन क्लब चर्च व्वाईजविरुद्ध रोमाञ्चक जित दर्ता गर्‍यो । खेलको १४ औँ मिनटमा सिराहाका लागि आशिष चापाँगाईले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफ आफ्नो पक्षमा पारेको सिराहाविरुद्ध चर्च व्वाईजले खेलको ५१ औँ मिनटमा बराबरी गोल गर्‍यो । चर्च व्वाईजका राजेश परियारले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काए पनि केहीबेरमै आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः २–१ गोल अन्तरले पछाडि पर्‍यो । चर्च ब्वाईजका डिफेण्डर एकराज बुढाथोकीले बल क्लिएर गर्न खोज्दा गरेको गल्तीले बल गोलमा परिणत भएको थियो । खेलको ६३ औँ मिनटमा आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः पछि परेको थियो ।

अनुभवी खेलाडीले भरिएको चर्च व्वाईजले पनि आत्मघाती गोलको फाइदा लिँदै बराबरी गर्‍यो । खेलको ७३ औँ मिनटमा सिराहाका कप्तान कुलदिप कार्कीले गोल लाईनबाट क्लिएर गर्न खोजेको बल गोलमा परिणत हुँदा चर्च व्वाईज खेलमा फर्किएको थियो । खेलको अन्तिम समयमा बराबरी गोल भएपछि चर्च व्वाईजको समर्थनमा रहेका दर्शकको हुटिङ स्मरणीय थियो ।

अन्तिम समयमा भएको बराबरीपछि निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्न दुबै टिमले आक्रामक खेल खेलेका थिए । तर इन्ज्युरी समयको अन्तिम मिनटमा गोल गर्दै सिराहाले चर्च व्वाईजलाई स्तब्ध बनायो । सिराहाका लागि शिशिर लेखीले दोश्रो हाफको ५ मिनटको इन्जुरी समयको अन्तिम मिनटमा गोल गरेका थिए । केही सेकेण्ड बाँकी छँदा गोल भएपछि सिराहाका प्रशिक्षक राजिवकुमार यादव उत्साहित हुँदै मैदान भित्रै प्रवेश गरेका थिए ।

खेलको म्यान अफ दि म्याच सिराहाका शिशिर लेखी घोषित भए । उनले १० हजार नगदसहित ट्रफि प्राप्त गरे । शुभारम्भ कलेज अफ म्यानेज्मेन्ट सिमराका प्रमुख शम्भु मण्डलले उनलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत सोमबार सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब र मकवानपुर ११ हेटौंडाबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *