काठमाडौँ, २५ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अनुसन्धानका क्रममा विभिन्न कैफियत देखिएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
भट्टराईले जग्गा खरिद गर्न लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपाइटरसँग घुस माग गरी प्रोपाइटरकै खाताबाट सोझै जग्गा बिक्रेताको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी जम्मा ८० लाख जम्मा गराएको छानबिनबाट देखिएको आयोगले जनाएको छ ।
निज भट्टराईले आमा जनक नन्दिनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना एक दाम र दुई आना एक पैसा गरी दुई कित्ता जग्गा खरिद गर्दा बिक्रेताको खातामा जम्मा गरेको रकमको स्रोत खोजी गरिएको आयोगले जनाएको छ । सोही आधारमा भट्टराईलाई ८० लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना मागदाबीका साथ आयोगले मुद्दा दायर गरेको हो ।
यस्तै, भट्टराईकी आमा नन्दिनीलाई पनि भ्रष्टाचारको मतियार भएको आरोपमा प्रतिवादी बनाउँदै ८० लाख नै बिगो कायम गरी सजाय तथा बिगो बमोजिम जरिवाना मागदाबी गरिएको छ ।