सामाजिक फीड,
काठमाडाैँ, २५ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले कामदारका लागि राहतलगायत सेवा दिँदै आएको छ ।
बबरमहलस्थित यो कार्यालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधिभित्र वा तोकिएको अवधिभित्र सम्मका लागि कामदार एवं कामदारको परिवारलाई बोर्डले दिने सेवाहरूका बारेमा जानकारी दिएको हो । बोर्डले कामदार विदेश वा नेपालमा समेत बिरामी वा अंगभंग भएमा उपचारका लागि ७ लाख रुपैयाँसम्म आर्थिक सहायता दिँदै आएको छ ।
त्यस्तै, कामदारको घरपरिवारका सदस्यलाई गम्भीर रोग लागेमा एक पटकका लागि ५० हजार रुपैयाँसम्म औषधी उपचार सहयोग, विदेशमा उद्दार तथा खोजतलासको समन्वय तथा स्वदेश फिर्ता ल्याउने एवं फौजदारी अभियोग लागि कानूनी सहायता आवश्यक परेमा कानुनी प्रतिरक्षा सहायता, महिला कामदारले पूर्व-प्रस्थान अभिमुखीकरण तालिम वापत तिर्नुपर्ने शुल्क सोधभर्ना र विदेशमा कामदारको मृत्यु भएमा शव नेपाल झिकाउने एवं त्रिभुवन विमानस्थलबाट इच्छाएको सडक पुगेको स्थलसम्म निःशुल्क शव ढुवानी सेवा बोर्डले दिने गरेको छ ।
त्यस्तै, मृतक कामदारको नजिकको हकवालालाई २५ हजार वा ७ लाख रूपैयाँ आर्थिक सहायता दिने गरिएको छ । त्यसैगरी, पूर्ण आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्तानलाई वैदेशिक रोजगार छात्रवृत्ति सहायता, विदेशबाट फर्किएका रिटर्नी कामदारहरूलाई उद्यमशील बनाउनेलगायत अन्य प्रबर्द्धनात्मक विभिन्न कार्यक्रमहरू पनि बोर्डले गर्दै आएको छ । यी सेवाहरू लिनका लागि सम्बन्धित स्थानीय तहको रोजगार सेवा केन्द्र, आप्रवाशी स्रोत केन्द्र वा वैदेशिक रोजगार बोर्डको सचिवालयमा सम्पर्क गर्न भनिएको छ ।
