Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ चैत । आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज शनिबार काठमाडौँमा जनप्रदर्शन गर्दैछ ।

जनआन्दोलन दिवसको अवसरमा हुने सो जनप्रदर्शन पश्चात काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सम्बोधन गर्ने कार्यक्रम छ ।

आजपा उपमहासचिव चन्द्रभुषण साहका अनुसार देशमा बढदै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा जनप्रदर्शन हुन लागेको हो । देशमा व्यापक रूपमा बढदै गएको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म विकास सम्भव नभएको बताउँदै उनले दलीय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए ।

आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहका अनुसार दलतन्त्रको ठेकेदारहरूलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्दाहरूको रक्ष गर्न, देशलाई बर्बाद गर्ने नेताहरूबाट जवाफ माग्न, जनतालाई धोखा दिने गद्दारहरूलाई दण्डित गर्न, देशलाई आर्थिक संकटबाट बचाउन, काण्डैकाण्डका नाइकेहरूलाई कारबाही गराउन दबाब दिने उद्देश्यले जनप्रदर्शन गर्न लागिएको हो ।

यसैगरी देश लुटेर विदेश लानेहरूको सम्पती जफत गराउन, खुद्रा व्यापारी, कवाड तथा गार्मेन्ट व्यवसायीहरूको रक्षा गर्न, लघुवित तथा बैंकहरूको मनोमानी बन्द गर्न, सहकारी पीडितहरूलाई न्याय दिलाउन, सरकारी बजेटको भागबण्डा बन्द गर्न, घुस कमिशन तथा भ्रष्टाचार रोक्न, मनपरी कर तथा महँगाई नियन्त्रण गर्न, भन्सार कानुनको ४५ प्रतिशत लुटकारी प्रावधान खारेज गर्न, सुकुम्बासी एवं गरिबलाई आवास तथा रोजगारीको व्यवस्था गर्न, युवाहरूलाई स्वदेशमै रोजगारी दिलाउन आजपाले जनप्रदर्शन गर्न लागेको आईटी आर्मीका केन्द्रीय सदस्य रामसरण यादवले बताए ।

यसैगरी वैदेशिक रोजगारका ठगहरूलाई कारबाही गराउन, दलित तथा अल्पसंख्यकमाथिको विभेद अन्त्य गर्न, महिलालाई राज्यको हरेक अंक र क्षेत्रमा ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, अधिकार र पहिचानको मुद्दहरू स्थापित गर्न, किसानलाई पेन्सन र मजदुरलाई सामाजिक सुरक्षा दिलाउन, देशको निराश जनतालाई उत्साहित गर्ने उद्देश्यले जनप्रदर्शनको आयोजना गरिएको आजपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *