सामाजिक फीड,
सुनसरी, २३ चैत्र । सुनसरीको भुटाहामा दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेकाे छ । हरिनगर गाउँपालिका वडा-४ स्थित गाउँपालिकाको कार्यालय रहेको बजार क्षेत्र मध्याह्नदेखि उत्पन्न भएको तनाव अहिलेसम्म मत्थर भएको छैन ।
प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिएका छन् । प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले बताइन् । झडपमा ढुङ्गा लागेर हरिनगराका ४ स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको थियो । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेला जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन उल्लेख छ ।
बिहीबार एक युवक कुटिएपछि सुरू भएको विवादले शुक्रबार बिहानैदेखि हरिनगर बजारमा दुई समूहबीच झडपको स्थिति देखिएको थियो ।