वीरगन्ज, २० चैत्र । वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जनालाई रङ्गेहात पक्राउ गरेको छ ।
पक्राउपर्नेमा वीरगन्ज महानगरपालिका–४ वीर्ताका २६ वर्षीय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ वर्षीय सरफराज अन्सारी रहेका छन् । दुवै जनालाई वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले सोमबार बेलुकी चोरीको मोटरसाइकल र स्कुटीसहित पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक बोगटीका अनुसार गत शुक्रबार वीरगन्ज १० आदर्शनगरस्थित पुजन होटल अगाडि पार्किङ गरी राखिएको बीआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइलक चोरी भएको थियो । होटलकै रिसेप्सनमा कार्यरत कर्मचारीको उक्त मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा मोटरसाइकल चलाउँदै गरेको अवस्थामा गोसाईलाई सोमबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका गोसाईले उक्त मोटरसाइकल अन्सारीले दिएको बयान दिएपछि सोमबार बेलुकी नै प्रहरीले अन्सारीलाई नियन्त्रणमा लिएको थियो । अन्सारीको साथबाट पनि चोरीकै ना. १६ प २५२६ नम्बरको स्कुटी बरामद् भएको बोगटीले बताए ।
दुवैलाई चोरीको मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मंगलबार जिल्ला प्रहरी कार्यालय पर्साामा बुझाइएको बोगटीले जानकारी दिए ।