विरगञ्ज, २० चैत । गहवामाईको निशानसहित प्रथम डोली यात्रा वैशाख ४ गते हुने भएकाे छ ।
माईस्थान सञ्चालक समितिका अनुसार श्री गहवा माईको निशानसहितको प्रथम डोली यात्रा वैशाख ४ गते मंगलबार दिनको ४ बजे प्रारम्भ गरिने भएकाे हाे ।
डोली यात्रा मन्दिरबाट शुभारम्भ भएर २ नम्बर रोड हुँदै गणेशमान चोक, बिर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घन्टाघर हुँदै श्रीगहवामाई मन्दिर प्राङ्गणमा आई समापन हुने समितिका महासचिव विजयकुमार उपाध्यायले जानकारी दिए ।
सो डोली यात्रा सुरु हुनुअघि दिनको २ बजेदेखि २ घन्टा डोलाको पूजाआजा गरी ४ बजेदेखि यात्रा सुरु गरी ६ बजेभित्र मन्दिर पुगि समापन गर्ने कार्यक्रम रहेको छ । यात्रामा डोली निर्माणको खर्च समितिका सह–कोषाध्यक्ष डा. सर्राफले स्वीकारेका छन् । यात्रा कार्यक्रममा करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ ।
त्यसैगरी सो दिन गहवा माईको निशान लिने व्यक्तिले ५०५ शुल्क तिरेर लिन सक्ने र त्यसमा झन्डा, लगाउने पट्टा र प्रसाद रहेको सो पत्रकार सम्मेलनमा अध्यक्ष नरेन्द्रकुमार साहले जानकारी दिए ।