सामाजिक फीड,
काठमाडौँ, १९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले जारी एसईई परीक्षामा चिट चोराउने कार्य भएको विषयमा आम मधेशलाई दोष दिन नमिल्ने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद् झाले मधेशमा चिट चोराउने कार्यको दोष प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले लिनुपर्ने बताएका हुन् । सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले नै चिट चोर्न छुट दिएको उनको आरोप छ । झाले आवश्यक पद्धति र कडाइका साथ परीक्षा गर्नसमेत आग्रह गरे ।
उनले भने, ‘मधेशले पहाडलाई पढाउनका लागि कुनै बेला उक्लिने गर्थ्यो । तर अहिले मधेश आफैँ एसईई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरूको चपेटामा पर्दै छ । यसको दोष मधेशले किन खेप्दैछ ?’
सांसद् झाले मधेशमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिन पनि सरकारसँग आग्रह गरे ।