सामाजिक फीड
जनकपुरधाम, चैत्र १६ गते ।
गाजामाथि भइरहेको आक्रमण रोक्न काठमाडौंमा प्रदर्शन भएको छ ।
शुक्रबार स्वास्थ्यकर्मीहरुले आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
नेपाल, सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सकहरू संस्थाको अगुवाइमा चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिले विरोध जनाएका छन्।
युद्धमा कुनै पक्ष नलिएर घाइतेको उपचारमा खटिएका चिकित्सकमाथि नै आक्रमण हुन थालेपछि ज्ञापनपत्र बुझाउनु परेको नेपाली चिकित्सकले जनाएका छन्।
प्रदर्शनमा उत्रिएका चिकित्सकले ‘गाजामा नरसंहार रोक’, ‘प्यालेस्टाइनमा भोकमरी रोक’, ‘अस्पतालमा बमबारी नगर’, ‘एम्बुलेन्सलाई ढाल बनाउने होइन’ लगायतका नारा अंकित ब्यानर र प्लेकार्ड बोकेका थिए।
संस्थाका तर्फबाट अध्यक्ष प्रा.डा. गणेशबहादुर गुरुङ सहितको टोलीले काठमाडौंस्थित इजरायली दूतावास मार्फत इजरायल सरकारलाई ज्ञापनपत्र पनि बुझाएको छ। ज्ञापनपत्रमा गाजामा भइरहेको आक्रमण रोक्न माग गरिएको छ।
इजरायली दूतावासलाई बुझाएको ज्ञापनपत्रमा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको भर्त्सना गरिएको छ। गाजा र पश्चिमी ब्यांक क्षेत्रमा बिरामी र घाइतेको उपचारमा खटिएका प्यालेस्टाइनका स्वास्थ्यकर्मीको प्रशंसा गर्दै ऐक्यबद्धता जनाइएको छ।
नेपाली स्वास्थ्यकर्मीले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पनि माग गरेका छन्। ‘हामी हमासको चरमपन्थी कार्यलाई क्षमा दिन पनि अस्वीकार गर्छौं र नेपालका विपिन जोशी लगायत सबै बन्दीहरूको तत्काल र सुरक्षित रिहाइको माग गर्दर्छौं,’ उनीहरूले भनेका छन् इजरायलले प्यालेस्टिनी राजनीतिक बन्दीहरूलाई पनि रिहा गर्नुपर्छ।’
स्वास्थ्य संस्थामा गरिएको आक्रमणमा परी ६८५ स्वास्थ्यकर्मीको ज्यान गएको छ। हजारौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।