Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडाैँ, १६ चैत्र । यूरोपेली मुलुक र जापान पठाइदिने भन्दै करिब एक करोड रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्लाहीका रूपेशकुमार ठाकुर र कृष्णबहादुर राई, बाजुराका पर्वराज पाण्डे र ललितपुरका जीवन तामाङलाई पक्राउ गरेको हो । उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको छ । पक्राउ परेकामध्ये राई काठमाडौँस्थित टप चोइस एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन् । यो गिरोहले क्यानडा, पोल्यान्ड, स्पेन, माल्टा, जापान र न्यूजिल्यान्ड पठाउने भन्दै २२ जनालाई दिल्ली पुर्‍याएर अलपत्र पारेको प्रहरीले बताए । दिल्ली पुर्‍याएर उनीहरू सम्पर्कविहीन बनेका थिए ।

६ महीना लगाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितहरू अधिकांश मधेश प्रदेश छन् । कामदार भिसामा विदेश पठाउने भन्दै गिरोहले ठूलो रकम ठगी गरेको पाइएको छ।

चैत १३ गते पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाइएको छ। पक्राउ परेकाहरूमध्ये ठाकुर र राईले जनही ८० लाख रुपैयाँ ठगेको प्रहरीको भनाइ छ। त्यस्तै, पाण्डेले ६ लाख र गुरुङले एक लाख ६० हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *