सामाजिक फीड,
काठमाडौँ, १३ चैत । आयरल्यान्ड वल्भ्सविरुद्ध दुई खेलको टी–२० सिरिज नेपालले जितेको छ । नेपालले आयरल्यान्ड वल्भ्सलाई २–० ले सिरिज आफ्नो पक्षमा पारेको हो । मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा भएको दोश्रो खेलमा नेपालले आयरल्यान्डलाई ७१ रनले हराएको छ ।
नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा वल्भ्स १९ औँ ओभरमा मात्र १ सय २७ रनमा अलआउट भयो । यसअघि पहिलो खेलमा नेपालले ६ विकेटको जित निकालेको थियो । नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३–३ विकेट लिए । विवेक यादव, कुशल भुर्तेल र करण केसीले १–१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९८ रन जोड्यो ।
नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोड्दा अन्य ३ ब्याटरले २५ रनको आँकडा पार गरेका थिए । ओपनर आसिफ शेख तेस्रो ओभरमा म्याथ्यु फोस्टरको बलमा आउट भए । ९ बलमा १ चौका र १ छक्कासहित ११ रन जोडेका उनी विकेटकिपरको हातबाट समातिए ।
पाँचौ ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि पेभेलियन फर्किए । फोस्टरकै बलिङमा कुशल मिड विकेटमा सहजै क्याच थमाउन पुगे । उनले १६ बलमा २–२ चौका र छक्कासहित २५ रन जोडे । सातौँ ओभरमा अनिल साह पनि आउट भए । उनी ११ बलमा १२ रन जोड्दै ठूलो सट खेल्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए । चौथो विकेटका लागि कप्तान रोहित पौडेल र गुलशन झाले ७१ रनको साझेदारी गरे । गुलशन १४ औँ ओभरमा आउट हुँदा नेपालले १ सय २९ रन जोडेको थियो ।
कप्तान रोहित पनि १६ औं ओभरमा क्याच आउट नै भए । रोहितले २४ बलमा ५ चौकाका साथ ३३ रन बनाए । कुशल मल्लले १३ बलमा ३४ रन जोड्ने क्रममा १ चौका र ४ छक्का प्रहार गरे । विवेक यादवले ८ बलमा नटआउट ७ रन बनाए । सन्दीप जोराले इनिङको अन्तिम बलमा क्याच आउट हुनुअघि २१ रन जोडे । उनले ९ बलमा ४ चौका र १ छक्का जोडे । नेपालले अब भारतमा हुने फ्रेन्डसिप कप र त्यसपछि ओमानमा एसीसी मेन्स प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ ।