सामाजिक फीड
जनकपुरधाम, चैत १२ गते ।
आज तराई मधेशमा होली पर्व मनाइँदै छ । हिजो पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएपछि आज तराई मधेशका जिल्लाहरुमा मनाइँदै छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।
साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूणिर्मा सकिएर लाग्ने प्रतिपदा तिथिमा होली खेल्ने परम्परा छ । यसअनुसार तराई मधेशका अधिकांश ठाउँमा सोमबार (आज) होली पर्व मनाइँदैछ ।
मिथिलाको माध्यमिकी परिक्रमा क्षेत्रभित्र अन्तगृह परिक्रमा सम्पन्न गरिएपछि त्यसको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ । यसअनुसार सोमबार अन्तगृह परिक्रमा गरिएपछि मंगलबार होली खेलिनेछ । भोलि मंगलबार परेकोले माछामासु नखानेले बुधबार होलि मनाउने मनस्थितिमा छन् ।
स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेगमा ‘फागु पूणिर्मा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।
पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ–आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो ।।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।