Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र ११ गते ।

मधेस सरकारको मुख्यमन्त्री भएयता सरोजकुमार यादवलाई चौथो पटक विश्वासको मत लिनु पर्ने भएको छ ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई अब चौथो पटक विश्वासको मत लिनु पर्ने भएको छ ।

गत सोमबार कांग्रेसका मन्त्रीलाई सरकारबाट हटाएपछि शुक्रबार कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था छ ।

यसअनुसर समर्थन फिर्ता लिएको दिनदेखि ३० दिन भित्र मुख्यमन्त्री यादवलाई चौथो पटक विश्वासको मत लिनु पर्ने छ ।

मधेस प्रदेशसभामा कुल सदस्य १०७ जना रहेकोमा बहुमत संख्या अर्थात कम्तिमा ५४ जनाले उनको पक्षमा मतदान गर्नु पर्ने छ ।

सरोज यादव नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारलाई कुनै फरक नपरेपनि संवैधानिक व्यवस्था अनुसार उनलाई विश्वासको मत लिनुपर्ने छ ।

यसअघि जनमत पार्टीले सरकारबाट बाहिरीदै दिएको समर्थन फिर्ता लिएपछि गत फागुन ६ गते मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासका मत लिएका थिए ।

त्यसअघि नेकपा एमाले सरकारबाट बाहिरिएपछि जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए । उक्त समय सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले समेत विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले सिंगो सदनको विश्वासको मत पाएका थिए ।

जसपाको नेतृत्वमा रहेको मधेस सरकारमा अहिले नेकपा एमाले, माओवादी केन्द्र, लोसपा र नेकपा एस रहेको छ ।

अहिले प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९/९, नेकपा एसका ७ सांसद छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *