सामाजिक फीड,
काठमाडौँ, ०९ चैत्र । पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीकाे आग्रहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सहमति जनाउँदै महरालाई ‘बोलाएका बेला उपस्थित हुने’ शर्तमा रिहा गरिएको हो ।
उनलाई जेठा छोरा निर्मल महराको जिम्मा लगाइएको हो । महराको बयान भइसकेको र उमेर तथा स्वास्थ्य अवस्थाका कारण थुनामै राखेर अनुसन्धान गर्नु नपर्ने निष्कर्षमा सरकारी वकिल पुगेको हो । महरासँग सरकारी वकिल कार्यालयले बुधबार र बिहीबार दुई दिन बयान लिएको थियो ।
बयानमा उनले आफू सुन तस्करीमा संलग्न नरहेको इन्कारी बयान दिएका छन् । उनलाई चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएको थियो ।
२०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराले पटक पटक सम्पर्क गरेका र उनले विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख किरण पोखरेललाई रोकिएको भेप छुटाउन फोन गरेका थिए । महराका कान्छा छोरा राहुल ९ किलो सुन तस्करी प्रकरणमै गत भदौ १३ गतेदेखि पुर्पक्षका लाथि थुनामा छन्।