सामाजिक फीड,
काठमाडौँ, ७ चैत्र । एक्सेस कोड हटेपछि नेपालबाट भारतमा फोन गर्दा दोब्बर शुल्क तिर्नुपर्ने भएको छ । भारतीय टेलिकम कम्पनीले ‘ट्यारिफ’ बढाएको भन्दै नेपाल टेलिकमले पनि शुल्क बढाएको हो । नेपाल टेलिकमले सस्तो शुल्कमा भारत कल गर्न मिल्ने एक्सेस कोड नै बन्द गरिदिएको छ ।
टेलिकमको सीमकार्डबाट भारत फोन गर्न तीन वटा एक्सेस कोड १४२४, १४२५ र १४४५ प्रयोग गर्न मिल्थ्यो ।अहिले टेलिकमले भारत फोन गर्न मिल्ने १४२४ एक्सेस कोड बन्द गरिदिएको छ । हाल १४२५ र १४४५ एक्सेस कोड प्रयोग गरेर मात्रै भारत कल गर्न मिल्छ । १४२४ एक्सेस कोड प्रयोग गरी भारत फोन गर्दा प्रतिमिनेट दुई रुपैयाँ ९९ पैसा शुल्क काट्थ्यो ।
१४२५ र १४४५ प्रयोग गरी फोन गर्दा प्रतिमिनेट ६ रुपैयाँ काट्छ । भारतीय कम्पनीले नै ट्यारिफ बढाएपछि घाटा हुन थालेको भन्दै टेलिकमले सस्तो दरको एक्सेस कोड बन्द गरेको बताएको छ । यससँगै भारत फोन गर्दा उपभोक्ताले पहिला तिर्दै आएको भन्दा दोब्बर मूल्य तिर्नुपर्ने भएको हो । एनसेलले समेत भारत फोन गर्दा लाग्ने शुल्क बढाएको छ ।