सामाजिक फीड,
काठमाडाैँ, ७ चैत्र । मिटरब्याज पीडितहरूको गुनासो सम्बोधन गर्नका लागि देशभर डेस्क स्थापना हुने भएको छ । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूको गुनासो तत्काल सम्बोधन गर्न सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो ।
साथै, डेस्कमा खटिने कर्मचारीको नामथर, पद, इमेल, सम्पर्क नम्बर तथा अन्य सम्पर्कका माध्यमहरू कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ । त्यस्तै, पीडितहरूका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्न गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जिएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको छ ।
मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासोका लागि मोबाइल नम्बर ९८५१३६०६०३ (भाइवर, ह्वाट्स एप म्यासेजका लागि), इमेल : meterbyaj@gmail.com तथा टोल फ्रि नम्बर १११२ मा सम्पर्क गर्न सकिनेसमेत मन्त्रालयले जनाएको छ । गत फागुन २४ गते गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच चारबुँदे सहमति भएको थियो । साेही सहमतिअनुसार डेस्क स्थापना गरी काम अघि बढाउन मन्त्रालयले निर्देशन दिएको हो ।