सामाजिक फीड,
काठमाडाैँ, ६ चैत्र । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले अर्का अध्यक्ष महिन्द्रराय यादवसहित नेताहरूलाई जिम्मेवारीबाट हटाएको छ ।
काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्न हस्ताक्षर गर्नेहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको हो । गत शनिबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित माओवादी पदाधिकारीहरू र नेसपा अर्का अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठको उपस्थितिमा नेसपा र माओवादीबीच एकता गर्ने सहमति भएको थियो ।
यो सहमतिमा माओवादी महासचिव देवप्रसाद गुरूङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका थिए । माओवादीसँग पार्टी एकता गर्ने यो सहमतिमा अध्यक्ष भट्टराई पक्षले विमति राख्दै आएको थियो । नेसपाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएपछि अध्यक्ष यादव पक्षले पनि केन्द्रीय समिति बैठक बोलाएको छ।