सामाजिक फीड,
काठमाडौँ, ४ चैत । अख्तियारले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोगमा आइतबार अख्तियारले विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले डिभिजनल वन अधिकृत साहसहित तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरू उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङ्ग, बर्दिबास नगरपालिका-१ का जग्गाधनीद्वय लिलामणी आचार्य र कृष्णप्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ताका एमबहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री र सिन्धुलीको सुनकोशी गाउँपालिका-४ का रुख कटान गर्ने ठेकेदार सन्दिप नेपालीविरूद्ध पनि मुद्दा दायर गरेको छ ।
त्यस्तै, सव-डिभिजन वन कार्यालय बर्दिवासका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोषकुमार साह, वनरक्षकहरू राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरुद्ध पनि भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
त्यस्तै नापी कार्यालय महोत्तरीका तत्कालीन अमिन रामदरश राउत, मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा ओमप्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडा सदस्य शान्ता देवी श्रेष्ठ, बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडाध्यक्ष चुडामणी पोखरेल र रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउतविरुद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ विगो माग दाबी गरिएको छ ।


