Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

पर्सा, २९ फागुन । दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरिदिएका बेहुलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सिक्री नपाउँदा विवाह मण्डपबाट उठेर जन्तीलाई समेत फर्काएपछि प्रहरीले पक्राउ गरेको हो । जन्तीसहित बिहे गर्न वीरगञ्ज रानीघाट गएका साहले विवाह मण्डपमा बेहुली पक्षबाट सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरिदिएका हुन् ।

बाराको कलैया उपमहानगरपालिका–४ का साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल खरिद गर्न ३ लाख २५ हजार, एक थान ल्यापटप, एक थान सुनको अंगुठी र सुनको हनुमानी माला बिहेअघि नै बेहुली पक्षसँग दाइजोको रूपमा लिइसकेको बेहुली पक्षले जनाएको छ ।

बच्चलाल साहका छोरा वर्ष २६ वर्षीय साहको वीरगञ्ज-२४ रानीघाटका एक उनकै स्वजातिको छोरीसँग फागुनमा २८ गते जन्ती लागेर बिहे हुने निश्चित भएको थियो । सोहीअनुसार सोमबार साँझ बेहुलासहित जन्ती पनि आयो । द्वार पूजापछि स्वयंवर बरमालाको परम्परा पनि पूरा भइसकेको थियो । उक्त विधिपश्चात् विवाहको विधि पूरा गर्नका लागि विवाह मण्डपमा पुग्दा बेहुलाले विभिन्न बहाना बनाउँदै सुनको सिक्री नपाएपछि विवाह नै बहिष्कार गरेका हुन् ।

बेहुला विवाह मण्डपबाट भाग्न खोज्दा झडपसमेत भएको प्रहरीले जनाएको छ । बेहुली पक्षले जति सम्झाउँदा पनि बेहुला बिहे गर्न नमानेपछि कुटपिट सुरु भएको थियो । लगत्तै प्रहरी चौकी श्रीपुरबाट घटनास्थल पुगेको प्रहरी टोलीले बेहुलासहित केही जन्तीलाई नियन्त्रणमा लिएको हाे । पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमार बिक्रम थापाले घटनाको पुष्टि गरेका छन् । यो घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी घर अगाडि आएर पनि बिहे नभएर जन्ती फिर्ता गएको कारण सामाजिक प्रतिष्ठामा असर परेको भन्दै बेहुली पक्षको घरमा रुवाबासी भएको स्थानीयहरूले बताएका छन् ।

ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेको बेहुली पक्ष विवाह नै नभएपछि मारमा परेको छ । साहुसँग चर्को ब्याजमा ऋण लिएर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि बेहुलीका पिता थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न पन्डालदेखि राम्रो खाना नास्ताको पनि व्यवस्था गरेको भएपनि लगभग ५० हजारको सिक्री नपाउँदा बेहुलाले विवाह नै रद्द गरिदिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *