Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन २८ गते ।

मधेश प्रदेशका सबैभन्दा धेरै पालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको पाइएको छ ।

शाखा अधिकृतको दरबन्दी रहेको ठाउँमा नायब सुब्बाले नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन् । मधेश प्रदेशमा जम्मा १३६ वटा स्थानीय तह रहेका छन् ।

तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका रहेको यस प्रदेशमा तीन उपमहानगरपालिकामा उपसचिव, ७३ नगरपालिका मध्ये ५५ मा शाखा अधिकृत र ५९ गाउँपालिकामध्ये २० वटामा सुब्बाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेको समान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

निमित्त हाकिमले पालिकाको कार्यसंचालन गर्दा कामकाज निकै प्रभावित भएका छन् । किनकी पालिका सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका मुख्य रहन्छ । स्थानीय तहमा विकास निर्माणका लागि आवश्यक बजेट, ठेक्का प्रणाली लगायतका विषय प्रमुख प्रशासकीय अधिकृतको कार्यक्षेत्र भित्र पर्छ । योसँगै पालिका अन्तर्गतका कर्मचारी र विद्यालयको तलब निकासा अधिकृतले नै गर्छन् ।

पालिकाहरूमा यति धेरै निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदा किन पदपूर्ति हुन नसकेको भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल प्रसाद भट्टराई भन्छन्, ‘पालिकामा दरबन्दी पूर्ति हुन नसक्नुको प्रमुख कारणमा कर्मचारीहरू नै जान नचाहनु हो, अर्को भनेको अहिले लोकसेवाबाट पास भएर आएका उपसचिवहरू तालिममा छन्, उनीहरूले तालिम सकाएपछि पालिकामै पठाउँछौँ ।

’पालिकाहरूमा जनप्रतिनिधिले कर्मचारीप्रति गर्ने व्यवहारले पनि प्रमुख प्रशासकीय अधिकृत टिक्ने कि नटिक्ने भन्ने देखिएको छ । ‘जनप्रतिनिधिले सकेसम्म आफूले रुचाएको र निमित्त नै राख्न खोज्ने प्रवृत्ति छ, अर्कोतिर काम गरिरहँदा कर्मचारीहरूमाथि कुटपिट र दुर्व्यवहारका कुरा पनि छ,’ भट्टराईले भने, ‘कर्मचारीले ऐन÷नियम टेकेर काम गर्छु भन्दा जनप्रतिनिधिको व्यवहार राम्रो पाइँदैन, त्यही भएर सकेसम्म जान रुचाउँदैनन् ।’

One Response

  1. ईनरूवा र बराहक्षेत्र जाने छ तर निमित्तको लागी पत्र पठाउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *