सामाजिक फीड,
काठमाडाैँ, २७ फागुन । जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सहकार्य गरी अघि बढ्ने भएका छन् । आइतबार डा. सीके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तमलोपा सहकार्य गरी अघि बढ्ने निणर्य गरेका हुन् ।
देश र जनताको हितका लागि भन्दै उनीहरूले सातबुँदे प्राथमिकताहरू पनि सार्वजनिक गरेका छन् । नेपालको संविधानको रक्षार्थ समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई-मधेशका साथै सम्पूणर् देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरू अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्न, देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील रहन, उद्योग-धन्दा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्न र गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न भनेर उनीहरूले सातबुँदे प्राथमिकता सार्वजनिक गरेका छन् ।
देशको वर्तमान परिस्थितिप्रति चिन्तित र सजग हुँदै यी प्राथमिकताहरू दीर्घकालीन समाधानका लागि प्रयत्नशील रहने प्रण पनि उनीहरूले गरेका छन् । सहकार्यपत्रमा जनमत पार्टीका अध्यक्ष डाक्टर राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी र तमलोपाका अध्यक्ष लालले हस्ताक्षर गरेका छन् । उनीहरूले अन्य दलहरूलाई समेत सहकार्यको अभियानमा सरिक हुन आग्रह गरेका छन् ।
