सामाजिक फीड,
चितवन, २५ फागुन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ प्राप्त गरेकी छन् । बेलायतको ‘एशियन भ्वाइस’ साप्ताहिकले मेयर दाहाललाई बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति यो अवार्ड प्रदान गरेको हो ।
पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो ।
अवार्ड प्राप्त गरेपछि प्रमुख दाहालले उच्च राजनीतिक नेतृत्वबीच सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताइन् । नेपालको स्थानीय तहमा भौतिक निर्माणसहित अन्य सूचकमा भरतपुर महानगरपालिका अग्रणी रहेको भन्दै यो अवार्ड दिइएको हो।
प्रमुख दाहाललाई लन्डनका मेयर सादिक खानसहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी भएको विशेष समारोहबीच अवार्ड वितरण गरिएको जनाइएको छ । उक्त अवसरमा मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो ।