सामाजिक फीड,
काठमाडौँ, २३ फागुन । प्रचण्ड सरकारमा नवनियुक्त १६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको समारोहका राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री, हरि उप्रेती रक्षामन्त्री, भगवती चौधरी महिला बालबालिकामन्त्री, राजेन्द्र राई खानेपानीमन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री र बलराम अधिकारी भूमि व्यवस्थामन्त्री बनेका छन् ।
त्यस्तै, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री, वर्षमान पुन अर्थमन्त्री, शक्ति बस्नेत उर्जामन्त्री, रेखा शर्मा सञ्चारमन्त्री, हितबहादुर तामाङ पर्यटनमन्त्री, रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, डीपी अर्याल श्रममन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री, एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र धनबहादुर बुढा शहरी विकासमन्त्री बनेका छन् ।
यसअघि सोमबार तीन मन्त्रीले शपथ लिएका थिए ।
त्यतिबेला एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए । आज गिरीले कानुन न्याय तथा संसदीय मामिला, तामाङले पर्यटन र अर्यालले श्रम मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।