समाजिक फीड
जनकपुरधाम, फागुन २३ गते ।
राजनीतिक उथलपुथलका बीच नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको छ ।
यद्दपी एमालेले भने नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन तोडेर सरकारको नेतृत्व गर्न कांग्रेसले गरेको प्रस्ताव अस्वीकार गरेको छ ।
माओवादीले आफूसँगको गठबन्धन तोडेपछि कांग्रेसले नयाँ बनेको गठबन्धन तुहाउने प्रयास गरेको हो ।
कांग्रेसले औपचारीक तथा अनौपचारिक रुपमा गरेको प्रस्ताव भने आफुहले नमानेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनका अनुसार आवेगमा कांग्रेसबाट विभिन्न प्रस्ताव आइरहेका छन् ।
आफूसँगको गठबन्धन हठात तोडेपछि कांग्रेसले माओवादी बाहेकको वैकल्पिक समीकरणको प्रयास थालेको छ ।
यसैक्रममा कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष समेत लिएर सरकारको नेतृत्व गर्न एमालेलाई प्रस्ताव गरेको हो ।
नयाँ गठबन्धन बलियो बनाउने प्रयासस्वरूप एमाले अध्यक्ष केपी शर्मा ओली विगतको तिक्तता बिर्सँदै मंगलवार नेकपा एसका अध्यक्ष माधव नेपालको निवासमा पुगेका थिए ।
नयाँ समीकरण बनेदेखि नै यसलाई तुहाउन कांग्रेस नेताहरू सक्रिय भएर लागेका छन् ।
नयाँ समीकरण बनाउने बेला आफूलाई थाहा नदिइएको भनेर असन्तुष्ट नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन कांग्रेस सभापति शेरबहादुर देउवा बुधवार बिहान उनको निवास पुगेका थिए ।
त्यहाँ पुगेर देउवाले माधव नेपाललाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका स्रोतले बतायो ।
प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको कांग्रेस विश्वासको मत लिने बेला बहुमत पुर्याउन नदिने रणनीतिमा लागेको छ ।
माओवादी–एमालेसहितको गठबन्धन भत्काउने प्रयास स्वरूप कांग्रेसले रास्वपालाई समेत सरकारको नेतृत्व गर्नका लागि प्रस्ताव गरेको चर्चा भएको थियो ।