Samajik Feed – News Portal from Nepal

०३ कार्तिक, जनकपुरधाम। निर्वाचन आचारसंहिता लागू गर्न निर्वाचन आयोगले आगामी मंसिरमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ ।

आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी आयोगले दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यही मंसिर २० गते मतदान हुँदैछ । आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताको पालना गर्न र अरुलाई पनि पालना गर्न प्रोत्साहित गर्न निर्देशन दिएको छ । आयोगले आचारसंहिता पालना नगर्नेलाई जरिवाना र उम्मेदवारी खारेज गर्ने चेतावनी दिएको छ ।

आज यहाँ एक विज्ञप्ति जारी गर्दै आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले विभिन्न राजनीतिक व्यक्तिले सरकारको दुरुपयोग गरेको सूचना पाएपछि सात बुँदे निर्देशन जारी गरिएको जानकारी दिए । स्रोतसाधन, सुरक्षाकर्मीसहित २५ जनाभन्दा बढीको समूहलाई घरदैलो निर्वाचन अभियानमा लैजाने, र्‍याली, आमसभा, कोणसभा आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचारका लागि सवारी साधन प्रयोग गर्नेलगायतका कार्य आयोगको जानकारीमा ल्याइएको छ ।

निर्वाचन आचारसंहिताको दफा ५ मा नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरूले निर्वाचन आयोगको अनुमतिबिना कुनै पनि राजनीतिक दल वा उम्मेदवारका लागि अन्य निर्वाचन क्षेत्रमा लबिङ गर्न नपाउने र आफूले उम्मेदवार भएको निर्वाचन क्षेत्रमा मात्र प्रचारप्रसार गर्न सक्ने स्पष्ट उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *