Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम,फागुन २२ गते

त्रिकोणात्मक टी२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ।

मंगलबार भएको फाइनलमा घरेलु टोली नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो।

नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गरेको छ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले अर्धशतक बनाएका थिए। यस्तै साइब्रान्ड एंगलब्रेक्टले ४८ रनको इनिङ खेले।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोडेको थियो। नेपालका लागि ओपनर आसिफ सेख अर्धशतकबाट चुकेका छन्। ४७ रनमा माइकल लेभिटको एलबीडब्लू धरापमा परेका उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए। गुलसन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिए।

नेपाल लिग चरणमा चार अंकका दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको थियो भने पाँच अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो।

लिग चरणका सुरुका दुई खेलमा नेपालले नामिबियासँग २० र नेदरल्यान्ड्सँग दुई रनको पराजय व्यहोरेको थियो। पछिल्ला दुई खेलमा नेपालले नामिबियामा तीन रन तथा नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो। नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा ५९ रनले हराउँदा दोस्रो खेल भने वर्षाले रद्द भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *