समाजिक फीड
जनकपुरधाम, फागुन २२ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
त्यसक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ ले लोसपालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
अध्यक्ष महन्थ ठाकुरसँग गरेको छलफलमा प्रचण्डले लोसपालाई सरकारमा सहभागी आउन आग्रह गरेको सो पार्टीका सचिव मनिष मिश्रले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले सुरुदेखि लोसपा गठबन्धनको साथमा रहेको यसलाई नियमित गर्न आग्रह गरेको उनको भनाइ थियो ।
त्यसको जवाफमा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने बताएका थिए । तर, नयाँ गठबन्धन बनाउँदा आफूहरूसँग कुनै सल्लाह नलिएको गुनासो ठाकुरले छलफलका क्रममा गरेका थिए ।
लोसपा स्रोतका अनुसार अध्यक्ष ठाकुरले प्रधानमन्त्री प्रचण्डलाई भने, ‘तपाईहरु सबै कुरा फाइनल गरिसकेपछि अन्त्यमा हामीलाई खोज्नु हुन्छ, अब हामी पार्टीमा छलफल गरेर जानकारी गराउँछौँ ।’
हिजो बसेको लोसपाको बैठकले सरकार तथा गठबन्धनको बारेमा निर्णय लिने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो ।